शङ्कर लामिछाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्कर लामिछाने
Photo of Shankhar Lamichhane
शङ्कर लामिछाने
पेशासाहित्य (निबन्धकार)
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधानिबन्ध
उल्लेखनीय कार्यहरूएब्स्ट्रयाक्ट चिन्तन: प्याज
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार

शङ्कर लामिछाने (वि.सं. १९८४ चैत ५ - वि.सं. २०३२ माघ १०) चर्चित नेपाली निबन्धकार हुन्।[१] उनलाई साहित्यका विशिष्ट साधकको रूपमा लिइन्छ। उनका गौंथलीको गुँड (२०२५), बिम्ब प्रतिबिम्ब (२०२८), गोधूली संसार(२०२७), एब्स्ट्रयाक्ट चिन्तन: प्याज र शङ्कर लामिछाने (२०३०) लगायतका निबन्ध सङ्ग्रहहरू प्रकाशित छन्। उनले निबन्ध सङ्ग्रह एब्स्ट्रयाक्ट चिन्तन: प्याजका लागि मदन पुरस्कार पनि प्राप्त गरेका थिए।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्करको जन्म वि.सं. १९८४ साल चैत ५ गते काठमाडौँको जैसीदेवलमा भएको थियो। लामिछानेले काठमाडौँमा विज्ञान विषय लिएर १२ कक्षा सम्मको अध्ययन पुरा गरेका थिए। राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागिर खाएका थिए। त्यसपछि उनी नेपाल-भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भएका थिए।

स्वभाव र लेखन[सम्पादन गर्नुहोस्]

लामिछाने खुबै मिलनसार स्वभावका थिए। उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका पनि अति नजिक थिए। त्यस बेला यी दुवैजना आर्थिक हाहाकारको दलदलमा भास्सिएका थिए। किनभने उनीहरूको कमाइ खाने भाँडो ठुलो थिएन। त्यसैले एक पटक लामिछानेकै पारामा लागेर देवकोटा पनि लामिछाने झैँ विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध भए। त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई यो पनि एउटा जीविकाको काम हो भनेर त्यतै मोडेका थिए। देवकोटा पनि अबोध बालक जस्तै थिए। त्यसैले जसले जे भन्यो उनी त्यही मानिदिन्थे। अनि फेरि तुरुन्तै अर्को कुनै मान्छेले भड्काएपछि देवकोटा उसैका कुरा पत्याइदिन्थे। तर लामिछानेले चाहिँँ देवकोटालाई आर्थिक रूपमा पनि उकास्ने प्रयत्न गरेका थिए।

चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय लामिछानेलाई नै दिइन्छ। लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ। उनले आफ्नो समयमा व्यवसायीका रूपमा समेत काम गरे। उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहे। उनले आफू पन्ध्र वर्ष पुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोत पत्रिकामा छपाए। त्यसपछि उनी क्रमशः चर्चा-परिचर्चामा आइरहे। किनभने उनले घनत्व भएका कृतिको मात्र निर्माण गरे। उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन: प्याज'ले वि.सं. २०२४ सालको मदन पुरस्कार पनि प्राप्त गरेको थियो। उनका फुटकर रूपमा थुप्रै कविताहरू छापिएका थिए भने कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (वि.सं. २०२५) प्रकाशित भएको थियो। साथै उनको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब' वि.सं. २०२८ मा प्रकाशित भएको थियो। 'गोधूलि संसार' (वि.सं. २०२७) र 'शङ्कर लामिछाने' (वि.सं. २०३२) नामक उनका निबन्ध बिधाका अरु प्रकाशित कृतिहरू हुन्।

नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्करलाई निबन्धकारकै रुपमा चिनेका छन्। खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्करको नाउँ आउँछ। तापनि निबन्धमा लामिछानेका पाठक देवकोटाका भन्दा सायद थोरै चाहिँँ छैनन्। वास्तवमा कलात्मक लेखनका उनी एउटा मुर्धन्य साहित्यकारका रूपमा सुप्रसिद्ध भए। उनले नेपाली निबन्ध विधालाई नयाँ शैली, नयाँ आयाम र नयाँ परिवेश दिए। त्यसैले नै नेपाली निबन्ध साहित्यमा उनी सर्वत्र मानिए। लामिछानेले आफूले पनि लेखे, अरूलाई पनि लेख्न प्रेरणा दिइरहे। उनको लेखन सीप अलौकिक मानिन्थ्यो। उनी लेख्दा मनबाट लेख्थे, मस्तिष्कबाट लेख्थे र वचनबाट लेख्थे। त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो। त्यही कारणले उनी छिटोछिटो लोकप्रिय हुँदै गए। त्यसमाथि उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो। महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भए, त्यसपछि उनी इन्द्रेणीको पनि सम्पादक भए। साथै उनले हाम्रो साहित्य नामक बाल पाठ्यसामग्रीको आठ भागको सम्पादन गरेका थिए। उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित थिए।

पारिवारिक अवस्था[सम्पादन गर्नुहोस्]

शङ्कर लामिछाने साहित्यिक कृति जति अब्बल दर्जाका छन्, व्यतिगत जीवनमा उनी त्यतिनै अव्यस्थित र विवादित रहे। दार्जीलिङनिवासी रत्ना राईसँग प्रेमविवाह गरेका उनले पछि काठमाडौँकी सुवर्ण श्रेष्ठसँग पनि अर्को बिहे गरे। रत्नातर्फबाट उनको दीप र शिखा जन्मे भने सुवर्णबाट प्रकाश र प्रभास। यसैबाट उनी बहुविवाहको झमेलामा परे। भन्नेहरू भन्छन्, उनले थुप्रैसँग प्रीति गाँसे। त्यही क्रममा तानिएर उनी पारिजातको सम्पर्कमा पनि पुगे। पारिजातसँगको उनको सम्पर्कलाई धेरैले प्रेमको संज्ञा दिए, तर उनले बाँचुन्जेल पारिजातलाई बहिनी भनिरहे। त्यो समयमा साहित्य जगतमा एउटा चर्चा व्याप्त थियो, "पारिजातको 'शिरीषको फूल'को भूमिका लामिछाने र पारिजात बीचको प्रेमको सेतु थियो।" भनिन्थ्यो, "शङ्कर लामिछाने र पारिजात एकअर्कालाई प्रेम गर्थे। दैनिक दस-बाह्र पल्टसम्म पनि लामिछानेको पारिजातसँग भेट हुन्थ्यो।" तर यथार्थमा चिन्नेहरूले प्रेम नै थियो भने पनि 'अलौकिक' थियो भन्छन्।

हाकाहाकी मैले चोरेको (कृति नक्कल गरेको) हो भनेर सार्वजनिक रूपमा उद्घोष गर्न सक्ने लामिछाने साहित्यमा एक निडर, निष्ठ साहित्यकार भएर लेखिरहे। लेख्दालेख्दै उनी नेपाली भाषा साहित्यका निबन्ध फाँटका महारथीका रूपमा स्थापित पनि भए।

निधन[सम्पादन गर्नुहोस्]

उनको ४८ वर्षको अल्पायुमा वि.सं. २०३२ माघमा नै ब्रेन ट्युमर रोगबाट निधन भयो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

व्यावसायिक जीवन[सम्पादन गर्नुहोस्]

उनी जनसेवा सिनेमा भवनका व्यवस्थापक, घरेलु शिल्पकला बिक्री भण्डार लिमिटेडको व्यवस्थापन प्रमुख, शङ्कर ट्राभल एण्ड टुर्स तथा होटल शङ्करका प्रशासक भएका थिए।[३]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औ जन्मोत्सव समारोह सम्पन्न"। ब्रिट नेपाल। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  2. "निबन्धहरूमा बाँचेका शङ्कर लामिछाने"। देश सञ्चार। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  3. "गौँथलीको गुँड"को तृतीय संस्करणमा छापिएको लेखक परिचय

सम्बन्धित बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]